देवदह । महोत्सवको मिति नजिकिदै गर्दा देवदह व्यापार संघले तयारीलाई तिब्र पारेको छ । आगामी माघ १० गतेदेखि सुरु भई २२ गते सम्पन्न हुने नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को तयारी तिब्र पारिएको हो ।
‘यतिबेला मेला स्थल देवदह–९ ‘देवदह मण्डप’मा स्टल तथा बाउण्ड्री निर्माणको काम चलिरहेको छ ।’ मुल समारोह समतिका संयोजक कोषबहादुर गुरुङ्गले भने, ‘यहि पौष २१ गते सचिवालय महोत्सब स्थलमै सार्नेगरि सचिवालय निर्माणको काम तिब्र गतिमा भईरहेको छ ।’
३ सय बढि स्टल रहने महोत्सवमा स्टल बुकिङ्कको काम समेत धमाधम भईरहेको स्टल दर्ता तथा वितरण व्यवस्थापन उपसमितिका संयोजक माधव ढकालले जानकारी दिए । ‘हाल सम्म एक सय भन्दा बढि स्टल बुकिङ्ग भईसकेका छन् । ’ उनले भने, ‘त्यतिनै संख्यामा ईच्छुकहरुले फोन मार्फत नाम टिपाईरहेका छन् । यो महिनाको अन्त्य सम्म सबै स्टल बुकिङ्ग हुनेगरि काम गरिरहेका छौं ।’
यसैगरि महोत्सवलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि विभिन्न उपसमितिले जनसम्पर्क र बैठकहरु मार्फत काम गरिरिहेको सचिवालय संयोजक हरि भण्डारीले बताए । पछिल्लो पटक महिला उद्यमी तथा उत्प्रेरक व्यवस्थापन उपसमितिको बैठक बसेर मेलामा महिला उद्यामीको उपस्थित उत्कृष्ट बनाउने निर्णय गरेको छ । संयोजक सविता भण्डारीको अध्यक्षतामा बसेको बैठकले सबै वडामा भएका महिला उद्यामीको तथ्याङ्क संकलन गर्ने र उनिहरुलाई महोत्सवमा सहभागिताको लागि उत्प्रेरणा दिने निर्णय गरेको सचिवालय संयोजक भण्डारीले जानकारी दिए ।
‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित महोत्सव सञ्चालन हुँदैछ ।
महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको मुल आयोजक समितिका अध्यक्ष गुरुङ्कले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।