देवदह । देवदहमा माघ ३ देखि ५ गतेसम्म हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन देवदहमा रहेका क्रियाशिल मिडियाकर्मी सङ्ग अन्तरक्रिया गरिएको छ।
शुक्रबार केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मी सङ्ग मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा रनिङ शिल्ड सम्पन्न गर्न सञ्चार संस्थाको भूमिकाको विषयमा छलफल गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले प्रतियोगितालाई विवाद रहित र व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको बताउनुभयो। पर्याप्त स्रोत र पूर्वाधारको बाबजुद विनियोजित रकमबाटै खेल सम्पन्न गर्ने गरि विद्यालयले तयारी गरेको र सोहि अनुसारको खेलमैदान मर्मतको काम भैरहेको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो। राष्ट्रपती रनिङ शिल्डको उद्घाटन विद्यालय प्राङ्गणमा हुने र पानबारी खेलमैदान बाकी खेलहरु हुने तथा पौष २६ गते शुक्रबार ५ बजेसम्म नाम दर्ता गरिसक्न समेत सूचना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले खेल सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। खेल अवधीभर खेलाडीहरुको सामूहिक बीमाको व्यवस्था गरिने समेत उहाँले बताउनुभयो।
कार्यक्रममा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका तिलोचन दाहाल, देवदह प्रेस क्लबका सचीव निर्मल एसपी मगर, बुद्द टेलिभिजनका केशब पराजुली, सिम्रिक आवाजका सुरज भट्टराई र सेतोमसी मिडियाका रेशम अधिकारी लगायले बोल्दै रनिङ शिल्ड सफल बनाउन मिडियाबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त रुपमा व्यवस्थापन गर्नका निमित्त सुरक्षा व्यवस्थालाई समेत उचित प्रबन्ध मिलाइने देवदह प्रहरी चौकीका इन्चार्ज एक्क बहादुर नेपालिले बताउनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता र सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो।