जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टि-२० क्रिकेट प्रतियोगिता माघ ७ गतेदेखि हुने भएकाे छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टोलीले सहभागी हुनेछ ।
नेपालबाट त्रिभुवन, मध्यपश्चिम, काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् । भारतबाट दिल्ली, लखनउ र बिहार विश्वविद्यालयले सहभागिता जनाउने पक्का भएको छ ।
यस्तै, बंगलादेशको ढाका विश्वविद्यालयले पनि प्रतियोगिता खेल्नेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ । ५ लाख बराबरको पुरस्कार भने विधागततर्फ उत्कृष्ट हुनेले पाउने छन् ।
त्यसैगरी आयोजकले प्रतियोगिताको विजेतालाई सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराउने बताएको छ ।
कान्छा पर्वतारोही निमा रिन्जी शेर्पा प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।