रुपन्देही । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) रुपन्देहीको आयोजनामा छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्दै खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुको साथै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनको लागि खेलको आयोजना गरिएको अध्यक्ष रामबहादुर गुरुङले बताउनु भयो ।
हरेक तहको परीक्षाहरुमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेका निजी विद्यालयहरुले अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा प्राप्त गर्ने गरेको स्मरण गराउँदै गुरुङले खेलकुदमा समेत निजी विद्यालयहरुले निकै राम्रो प्रदर्शन गर्दै आएको बताउनुभयो।
प्रतियोगितामा संगठनमा आवद्ध १२ वटा मा.वि. तहमा कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुवै तर्फको खेल हुने सचिव बिनोद थापामगरले जानकारी दिनुभयो ।
त्यसै गरी प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद पच्चिस हजार, पन्ध्रहजार र पाँच पाँच हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा कोषाध्यक्ष कृष्णप्रसाद गैरेले जानकारी दिनुभयो । उक्त खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सर्भर र उत्कृष्ट कोचलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।
खेल यही पौष २८ र २९ गते देवदह ५ स्थित पानबारी खेल मैदानमा आयोजना गरिने सचिव बिनोद थापा मगरले जानकारी दिनुभयो ।