देवदह । शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ५,६ र ७ मा पर्ने शिवालय सामुदायिक वनले बिहिवार बार्षिक साधारण सभा गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले सामुदायिक वनलाई पर्यटन संग जोडेर जान सके आर्थिक विकास हुने बताउनु भएको छ । उहाले सामुदायिक वन क्षेत्रमा पर्यटक भित्रयाउनको लागि पार्कको अवधारणा अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
मन्त्री कलवारले वातावरण संरक्षणमा सामुदायिक वनहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै वनको संरक्षण, सम्वद्र्धन संगै सदुपयोग गर्न आग्रह गर्नु भयो। उहाले नेपाल सरकारले सामुदायिक वनको अवधारणा अगाडि बढाएपछि वनको विकास भएको बताउनु भयो । उहाले सामुदायिक वनहरुले गरिवी न्यूनिकरण संगै समाज विकासमा लगानी गर्न आवश्यक रहेको औल्याउनु भयो ।
शिवालय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामचन्द्र पाध्यको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्यद्धय जानकी न्यौपाने, निर्मलादेवी चौधरी, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, देवदह–६, का वडाअध्यक्ष खेमबहादुर थापा, सव डिभिजन वन कार्यालय शितलनगरका प्रमुख रविन्द्रनाथ चौधरी, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अधयक्ष खेमनारायण अधिकारी, बैज्ञानिक वन महासंघ रुपन्देहीका अध्यक्ष चमकान्त गौडेल, सल्लाहकार वासुदेव रिमाल, शिवालय टोल विकास संस्थाका अध्यक्ष गणेश वस्याल, त्रिशक्ति आमा समुहका अध्यक्ष्ँ मिना खत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा समुहका अध्यक्ष पाध्यले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष अमृतबहादुर फुल्लेलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य प्रेमकला ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका उपाध्यक्ष संगीता विकको स्वागत र सचिव वाटुलीकुमारी रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।