केशव पराजुली, देवदह । राप्रपा देवदह १० को अध्यक्षमा पुनः जस कुमार पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शनिवार सम्पन्न वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो ।
राप्रपा देवदह १० वडा समितिमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले सवै जातजाती धर्म सम्प्रदायलाई एकताको शुत्रमा बाँध्न सक्ने गरी नेपालमा सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने भन्दै ठुला दलले हिन्दु राष्ट्र मास्न तर्फ लागेको आरोप लगाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका लम्सालले मुलधारका राष्ट्रिय पार्टीहरु भष्ट्राचारमा लिप्त भएको बताउँदै राप्रपाले देशको विकास सँग सँगै आमुल परिवर्तन गर्ने बताउनु भयो । वहाँले देशले प्रदेश सरकारलाई थेग्न नसक्ने प्रमाणित भैसकेको हुँदा चाँडो भन्दा चाँडो ७ वटै प्रदेश सरकार खारेज गर्नु पर्ने जिकिर गर्नु भयो ।
देवदह १० का अध्यक्ष जसकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा जिल्ला सह सचिव शंकर खत्री,क्षेत्रिय अध्यक्ष सिताराम सिंह, क्षेत्रिय उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगटन महासचिव कमल गौतम लगायतको उपस्थिती रहेको थियो ।