देवदह । रुपन्देहीको देवदहमा प्रथम नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । श्री जनप्रिय माध्यमिक विद्यालयको आयोजना, दुर्गा मन्दिर युवा क्लब र शान्ति आमा समुहको सहयोगमा उक्त प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा केसीले यस प्रतियोगिताले सामुदायिक विद्यालयहरूबीचको सहकार्य, शिक्षकहरुबिच मित्रता र शारीरिक तन्दुरुस्ती हुने कुरा व्यक्त गर्नुभयो । उहाले खेलकुदको माध्यमबाट शिक्षण पेशामा ऊर्जा र उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन बहादुर जिसी, भलुही खानेपानीका अध्यक्ष राम प्रसाद सापकोटा, रोहिणी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर रसाइली, विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष केशवराज पराजुली, जनता मा.विका प्रधानाध्यापक कृष्ण अर्याल, लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने विद्यालयले नगद ७ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले जानकारी दिनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक गायत्री प्रसाद खरेलको स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख केशव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।

 

पहिलो दिन दुई खेल सम्पन्न

उद्घाटन खेल देवदह मा.वि र भविष्य निर्माण मा.वि बिच भएको थियो । जसमा निर्धारित समयमा कुनै पनि टिमले गोल नगरेपछि पेनाल्टि सुट (दोस्रो पटकको) मा भविष्य निर्माण मा .विले जित हासिल गरेको छ । उक्त खेलको म्यान अफ द म्याच देवदह मा.विका दिल कुमार विक घोषित भएका छन् ।

त्यस्तै आज भएको दोस्रो खेल युगज्योति मा वि र सिता मा.वि बिच भएको खेलमा १-० को अन्तरले सिता मा.वि विजयी भएको छ । उक्त खेलमा म्यान अफ द म्याच सिता मा.विका विजय पुन घोषित हुनुभएको छ ।

भोलि भने पहिलो खेल (दिउसो ३:००) बजे आयोजक विद्यालय जनप्रिय मा.वि र  महामाया भवानी मा.वि बिच र दोस्रो खेल प्रगति मा.वि र सिता मा.वि बिच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *