देवदह । लायन्स इन्टरनेशनल ३२५ पि अन्तर्गतका क्लवहरुले बुधवार शंकर आधारभुत विद्यालय देवदहका विद्यार्थीहरुलाई जाडोको मोजा तथा स्कूल सुज वितरण गरेका छन् । क्लवको एरिया ३ र ४ अन्तर्गत रहेका १४ वटा क्लवहरुले संयुक्त रुपमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई उक्त सामग्रि वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै क्लवका डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले समस्या परेको ठाउँमा लायन्स उपस्थित हुने बताए । ‘जहाँ समस्या र अफ्ट्यारो छ त्यहाँ लायन्स परिवार टुलुटुलु हेरेर बसिरहन सक्दैन ।’ उनले भने, ‘कठ्याङ्ग्रिदो जाडोमा बालबालिका चप्पल सहित बिद्यालय आएको लायन्स लिडरहरुले हेरेर बस्न सक्नुभएन । अनि यो कार्यक्रमको कन्सेप्ट बन्यो ।’

सोहि अवसरमा वडा नं ११ का अध्यक्ष दुधनाथ यादवले विद्यालयमा लायन्स क्लवहरुद्धारा गरिएको सहयोग प्रति कृतज्ञता प्रकट गरे । उनले वडा कार्यालयले समेत बेलाबेलामा शैक्षिक सामग्रि वितरण गर्नेगरेको बताउँदै लायन्सले समेत सहकार्य गरेकोमा खुशि व्यक्त गरे ।

‘हामी सेवा गर्छौ’ भन्ने मान्यताका साथ स्थापित लायन्स अन्तराष्ट्रिय अन्तर्गतका क्लवले विद्यालयका दुई सय ७६ जना बालबालिकालाई दुईलाख रुपैंया बढि मुल्यका मोजा तथा स्कूल सुज वितरण गरेको कार्यक्रम संयोजक लायन्स क्लव अफ बुटवलका मृगेन्द्र गोविन्द श्रेष्ठले जानकारी दिए।

क्लबको एरिया ४ का चिफ दिपक श्रेष्ठको स्वागत र एरिया ३ कि चिफ शान्ति पाठकको धन्यवाद ज्ञापन सँगै समापन भएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ देवदहका अध्यक्ष कृष्णराज पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *